अमेरिकी राष्ट्रपति ट्रम्पले भोलि एउटा ‘ठूलो रात’ हुने घोषणा गरेपछि…


काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भोलिको राति एउटा ठूलो रात हुने घोषणा गरेका छन् । उनले सोमबार आफ्नो ट्रुथ सोसल अकाउन्टमा भोलि एउटा ठूलो रात हुने उल्लेख गरेका हुन् ।

ट्रम्पले लगातार दुई पोस्ट गरेका छन् । पहिलो पोस्टमा उनले लेखेका छन्, ‘पुटिनको रुसलाई युक्रेनका कुनै पनि भूमि दिन हुन्न भन्ने एक मात्र राष्ट्रपति डोनाल्ड ट्रम्प हो ।’

उनले अगाडि लेखेका छन्, ‘याद राख्नुहोस् कि कमजोर र प्रभावहीन डेमोक्र्याटहरूले आलोचना गर्छन् र फेक न्युजले उनीहरूले भनेका सबै कुरा खुसीसाथ प्रचार गर्छन् ।’

उनले अर्को पोस्टमा लेखेका छन्, ‘भोलि एउटा ठूलो रात हुनेछ। म यसलाई जस्ताको तस्तै भन्नेछु ।’

रुसी आक्रमणबाट पीडित युक्रेनका पक्षमा बेलायतमा युराेपेली मुलुकका नेताहरूको बैठक बसेको भोलिपल्ट सोमबार ट्रम्पले आफ्नो ट्रुथ सोसल अकाउन्टमार्फत उक्त कुरा बताएका हुन् ।

आइतबार युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको समेत सहभागितामा लन्डनमा युक्रेनबारे युराेपेली मुलुकका नेताहरूले छलफल गरेका थिए । यस बैठकपछि जेलेन्स्कीले हालैको घटनापछि युरोपबाट स्पष्ट समर्थन प्राप्त भएको दाबी पनि गरेका छन् ।

गत शुक्रबार खनिज सम्झौताका लागि भनेर जेलेन्स्की अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्न ह्वाइट हाउस पुगेका थिए । तर त्यहाँ राष्ट्रपति ट्रम्पसँगै उपराष्ट्रपति जेडी भान्ससँग उनको चर्काचर्की पर्‍यो ।

त्यसलगत्तै जेलेन्स्की शनिबार बेलायतको लन्डन पुगेका थिए । जहाँ आइतबार युराेपेली देशका नेताहरूको बैठक भएको हो ।

प्रकाशित : २०८१ फाल्गुन १९, सोमबार २१:१६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ