मलंगवा, ११ भदौं । सर्लाही जिल्लाको हरिपुर्वा नगरपालिका वडा नम्बर ५ मा रहेकोे केश्वर गरिब जनता माबिमा मंगलवार तालाबन्दी गरिएको छ । विद्यालयम सोमवार भएको अभिभावक भेलामा झडप भएपछि असन्तुष्ट पक्षले तालाबन्दी गरेका हुन् ।
विद्यालयमा तालाबन्द गरिएपछि विद्यार्थीहरुले विरोधमा परिसरमै टायर बालेर प्रदर्शन गरे । प्रधानाध्यापक फेकु रायको तुरुन्त सरुवा हुनुपर्ने, नवनियुक्त शिक्षकहरुलाई खारेजी गर्नुपर्ने, व्यवस्थापन समिति खारेज हुनुपर्ने, विद्यालयको सम्पुर्ण आयब्यय सार्वजनिक गरिनु पर्ने लगायतका ७ बुंदे माग राखी विद्यालयमा तालाबन्द गरिएको छ ।
प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश रायको उक्साहटमा विद्यालयमा तालाबन्दी गरिएको बताइएको छ । विद्यालयको सम्पूर्ण पठनपाठन ठप्प हुने गरी मन्त्रीले नै तालाबन्द गराएपछि विद्यार्थीहरु आक्रोशित बनेका छन् ।
प्रदेश सरकारले बेटी पढाउ, बेटी बचाऔ अभियान चलाएर चेलीबेटीलाई विद्यालय सम्म सहज पहुँचका लागि साइकल समेत वितरण गरिरहेको बेला एकजना मन्त्रीले तालाबन्दी गराउन थालेका छन् । विद्यालयमा शिक्षकको दरबन्दी रिक्त नरहेकाले भदौ १५ गते चक्रघाटा गाउपालिकाको विद्यालयमा अध्यापन गराइरहेका मावि शिक्षक धनेश्वर साहलाई सरुवा सहमति पत्र नदिएकोले पूर्वाग्रही भएर अनावश्यक आरोप लगाएको प्रअ फेकु रायले जनाए ।
‘दरबन्दी रिक्त नभएको ठाउँमा कसरी सरुवा पत्र दिने ? प्रअ रायले भने, ‘सरुवा पत्र नदिएकोले विभिन्न बहाना बनाइ विद्यालयमा तालाबन्दी गराइएको छ ।’ विद्यालयको आर्थिक स्थिति, शिक्षकको भर्ना लगायत सबै विषयमा छलफल गर्न सोमबार बोलाइएको अभिभावक भेलालाई भाँड्नेहरुले नै तालाबन्दी गराएको उनले आरोप लगाए ।
चालु रहेको परीक्षालाई अवरुद्ध गरी विद्यालयमा तालाबन्दी गरिएपछि आक्रोशित बनेका विद्यालयका विद्यार्थीहरुले हरिपुर्वा बजार चौकमा टायर बालेर प्रदर्शन गरे । स्थिति तनावपूर्ण बनेपछि विद्यालय परिसरमा ठूलो संख्यामा प्रहरी तैनाथ गरिएको थियो । बजारमा पनि प्रहरीको बाक्लो उपस्थिति थियो ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार सोमवार भएको समान्य झडपमा खगेन्द्र यादव र मनोज राय घाइते भएका थिए । उनीहरुको उपचार जनकपुर अञ्चल अस्पतालमा भइरहेको छ ।
– जनकपुर टुडे