काठमाडौं, २७ भदौं । निकै महँगो बजेटमा निर्माण भएको नेपाली फिल्म ‘पासवर्ड’ शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आएकोे छ । सम्राट बस्नेतले निर्देशनमा डेब्यू गरेको यो फिल्म पशुपति परिसरबाट चोरेर लण्डन पुर्याइएको बहुमुल्य मुर्ति नेपाल फिर्ता गर्न पात्रहरुले गर्ने संघर्षमा आधारित छ । फिल्मको अधिकांश छायांकन लण्डनमा भएको हो । अमित बस्नेत र हिराल जोशीले फिल्मको निर्माण गरेका हुन् ।
यो फिल्मको ‘आजको शाम’ बोलको आइटम गीतमा बलिउडकी ‘बेबी डल’ सन्नी लियोनीले कम्मर मर्काएकी छन् । यो गीतमा ठुम्का लगाउन उनले नेपाली तीन करोड पारिश्रमिक बुझेको चर्चा छ । लण्डनको एक क्लबमा खिचिएको गीतलाई यूट्युबमा ४८ लाखभन्दा बढीले हेरिसकेका छन् । यो गीतका कारण फिल्मको व्यापारमा ठूलो फाइदा पुग्नेमा विश्वास निर्माण टिमको छ ।
‘पासवर्ड’ को गीतमा काम गर्ने सम्झौता गर्दा अभिनेत्री सन्नीले फिल्मको प्रिमियरमा सहभागी हुन नेपाल आउने निर्माण टिमलाई बाचा गरेकी थिइन् । सोही बाचा पूरा गर्न उनी बिहीबार दिउँसो काठमाडौं ओर्लिइन् । र, साँझ प्रिमियरमा सहभागी भइन् । ठूलो तामझामका साथ कमलपोखरीमा अवस्थित कुमारी हलमा आयोजना गरिएको प्रिमियरमा सन्नी आकर्षणको केन्द्रविन्दु बनेकी थिइन् ।
साँझ करीब साढे ८ बजे स्टेज चढेकी उनले नेपाली दर्शकलाई सम्बोधन गर्दै आफूलाई संसारकै सबैभन्दा मनपर्ने देश नेपाल रहेको बताइन् । नेपाली मःम खान आफूलाई हतार भएको बताउँदै उनले नेपाली फिल्मको हिस्सा बन्न पाउँदा आफूलाई गर्व महशुस भएको बताइन् । उनले फेरि पनि नेपाली फिल्म गर्ने र नेपाल आउने प्रतिवद्धता व्यक्त गरेकी छन् । उनी शनिबार स्वदेश फर्किँदैछिन् ।
‘पासवर्ड’ को प्रिमियरमा निर्माता अमित बस्नेतले सन्नीलाई लिएर बलिउड फिल्म निर्माण गर्न लागेको घोषणा गरे । उनले उक्त फिल्मको अधिकांश छायांकन लण्डनमा हुने बताए । फिल्मलाई सनी रजानीले निर्देशन गर्नेछन् । यसअघि उनले थुप्रै बलिउड फिल्ममा कास्टिङ डायरेक्टरको रुपमा काम गरिसकेका छन् । निर्माता बस्नेतले फिल्मलाई नेपाली भाषामा डब गर्ने पनि जानकारी दिए ।