जनकपुरधाम, २८ भदौं । हरेक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने पितृ पक्ष अर्थात् सोह्र श्राद्ध आजदेखि सुरु भएको छ । श्राद्धको सुरु दिन शनिबार जनकपुरधामको ऐतिहासिक पोखरी गंगासागरमा तर्पण दिनेहरुको भिड लागेको थियो ।
स्वर्गीय भएकाहरुको सम्झनामा यस दिन कुश, तिल, जौं र फुली लिएर पोखरीमा विशेष पूजा गरेका छन् । यस अवसरमा काँक्रो दान गर्ने चलनसमेत रहेको छ । तर्पण गर्दा स्वर्गीय भइसकेका पूर्वजहरूलाई शान्ति प्राप्त हुने जनविश्वास रहेको छ ।
हिन्दू धामिर्क परम्पराअनुसार पितृपक्ष अर्थात सोह्र श्राद्ध गरिन्छ । आश्विन कृष्णप्रतिपदा देखि औंसीसम्म गरिने सोह्रश्राद्धमा आफ्ना परिवारका दिवंगत जेष्ठ सदस्यहरुको तिथिमा अन्नजल अर्पण तथा तर्पणादी गर्ने प्रचलन छ ।
यसका मौकामा मिथिलाञ्चल क्षेत्रमा आजदेखि टुहुराहरुले यो पर्व मनाइदै छ । यो पर्वमा बावु आमा नहुनेले जनकपुरधामको पवित्र गंगासागरमा स्नान गरी मृतात्माको सम्झना गर्ने गर्छन् ।
- राजा झा/देशसञ्चार