जनकपुरधाम, २९ भदौं । गत आर्थिक वर्षमा योजना सम्पन्न भइसक्दा पनि रकम निकासा नभएपछि अध्ययन गर्न प्रदेश १ प्रदेशसभाले समिति गठन गरिएको छ ।
सभामुख सरोज कुमार यादव सभापति र उपसभामुख उपमा देव उपसभापति रहने गरी आइतबार समिति गठन गरिएको हो । समितिमा सांसदहरू नागेन्द्र राय यादव, सन्चमाया मोक्तान, उपेन्द्र महतो, शिवचन्द्र चौधरी, मुख्यमन्त्री कार्यालयका सचिव शंकर सुवेदी, भौतिका पूर्वाधार विकास र आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव सदस्य छन् ।
समितिले गत आर्थिक वर्षमा सम्पन्न भएको योजनाको भुक्तानी हुन बाँकी रहेको कामसँग सम्बन्धित कागजात अध्ययन गर्ने जनाएको छ । साथै उक्त समितिले भुक्तानी नहुनुमा कसैको बदनियत वा गैरजिम्मेवारी रहेकालाई कारबाहीको सिफारिस गर्नेछ ।
यस्तै, सम्पन्न योजनाको कार्यको परिमाण एकीन गर्ने जनाएको छ । समितिलाई १५ दिनको म्याद दिएको छ। समितिले योजनाको आवश्यकताअनुसार स्थगतल निरीक्षण, अनुगमन तथा अन्तरक्रियासमेत गर्ने भनिएको छ ।
योजना सम्पन्न भइसक्दा पनि रकम निकासा नभएको भन्दै सत्तारूढ राजपा र प्रतिपक्ष कांग्रेस तथा नेकपाका सांसदले सदन नै अवरुद्ध गरेको थियो । उनीहरूले रकम निकासाको जवाफ सरकारसँग मागेका थिए । राजपा सांसद विदेश्वर यादब (विक्की)का अनुसार करिब १ अर्बभन्दा बढीको योजना सम्पन्न भइसक्दा पनि रकम निकासा भएको छैन ।