जनकपुरधाम, ४ असोज । मुख्यमन्त्री लालबाबु राउतले समानताले मात्र प्रदेशमा समृद्धि ल्याउने बताउनु भएको छ ।
महोत्तरीको मटिहानीमा आयोजित नगरपालिका स्थित सामुदायिक विद्यालयको कक्षा ९ मा अध्ययनरत छात्रा छात्राको लागि ल्यापटप वितरण कार्यक्रममा मुख्यमन्त्री राउतले प्रदेश भित्र रहेको भेदभाव अन्त गर्दै समान्ता ल्याइए मात्र समृद्धि सम्भव हुने बताउनु भयो ।
विश्वका समृद्ध मुलुकहरुमा महिला पुरुष, दलित गैरदलित जस्ता विभेद नरहेको उदाहरण दिनु हुँदै मुख्यमन्त्री राउतले भन्नु भयो, ‘ हामीलाई समृद्धि प्राप्त गर्नु छ भने विभेद अन्त गर्नु पर्दछ र प्रदेश सरकार त्यसमा अगाडी बढेको छ ।’
प्रदेश सरकारले समाजमा रहेको विभेद अन्त गर्नका लागि बेटी पढाउ बेटी बचाउ कार्यक्रम संचालन ल्याई सकेको उल्लेख गर्नु हुँदै मुख्यमन्त्री राउतले केही दिन भित्रै दलित सशक्तिकरण ऐन र मदरशा शिक्षा बोर्ड जस्ता विधेयक पारित गर्न लागेको दावी गर्नु भयो ।
आजको प्रतिस्पर्धात्मक युगमा प्राविधिक शिक्षाले मात्र सबैलाई रोजगारी दिन सक्ने उल्लेख गर्नु हुँदै मुख्यमन्त्री राउतले मटिहानी नगरपालिकाले कक्षा ९का छात्र छात्राहरुलाई ल्यापटप उपलब्ध गराएर प्राविधिक शिक्षाको विकासमा महत्वपूर्ण टेवा पु¥याएको भन्दै प्रशंसा समेत गर्नु भयो ।
मटिहानी नगरपालिकाका प्रमुख हरि प्रसाद मण्डको अध्यक्षतामा भएको उक्त कार्यक्रममा समाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, प्रदेश सभा सदस्य रामअशिष यादव, जिल्ला समन्वय समिति महोत्तरीका सभापति सुरेश प्रसाद सिंह, समाजवादी पार्टीका प्रदेश समिति सदस्य मोजिम राइन सहितका वक्ताहरुले मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा श्रीराम मावि मटिहानीका ७४ र मावि मझौराका २५ छात्र छात्राहरुलाई ल्यापटप वितरण गरिएको हो ।