जनकपुरधाम, ७ असोज । धनुषा प्रहरीले मोटरसाइकल चोरी गर्ने दुई जनालाई पक्राउ गरेको छ । धनौजी गाउँपालिका र जनकपुरधाम उपमहानगरपालिका १० बाट चोरी भएका दुई मोटरसाइकलसहित अलग अलग ठाउँबाट दुई चोरलाई प्रहरीले पक्राउ गरेको हो ।
जनकपुर उपमहानगरपालिका २५ बस्ने कलिमले धनौजी गाउँपालिका ५ बहुअर्वा बजारमा पार्किङ्ग गरी राखेको ज ७ प ७०५६ नम्बरको होन्डा साइन मोटरसाइकल चोरी भएको थियो । उक्त मोटरसाइकल धनुषाकै नगराइन नगरपालिका ७ लभटोली चोकस्थित बाटोमा डोर्याउँदै गरेका धनौजी गाउँपालिका ४ बस्ने वर्ष २० बर्षीय चन्दन मण्डललाई फेला पारी नियन्त्रणमा लिएको छ ।
यस्तै, जनकपुरधामको पुलचोकबाट चोरी भएको ज ९ प ६८७१ नम्बरको पल्सर मोटरसाईकलसहित धनौजी गाउँपालिका १ लखौली बस्ने १९ बर्षीय बिनोद कुमार साहलाई उनको घरबाटै पक्राउ गरेको छ । उनलाई मोटरसाइकलसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । साहले उक्त मोटरसाइकल चोरी गरी छिमेकी खेहरु महतोको गोठघरमा लुकाएको बयान दिएको प्रहरीले बताएको छ ।
मोटरसाइकल चोरीमा संलग्न दुबैबिरुद्व चोरी शिर्षकमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।