जनकपुरधाम, १५ असोज । नेपालीहरुको महान चाड विजयादशमी आईतबारबाट सुरु भएको छ । अन्य वर्ष जस्तै यसवर्ष पनि जनकपुरस्थित राजदेवी मन्दिरलाई दुलही झैं सजाएको हो ।
मन्दिर प्रवेश गर्ने मुख्यद्वारलाई लाखौं खर्च गरेर अति आकर्षक बनाएको छ । मन्दिरमा लगाएको पण्डालमा आकर्षक झिलिमिली बत्ती जडान गरिएको छ । पण्डल, भजन किर्तन र पूजा व्यवस्थापनमा मात्रै करिब १० लाख खर्च भएको महाविर युवा कमिटीका अध्यक्ष सन्तोष साहले टुडे खोजलाई जानकारी दिए ।
प्रमुख शक्तिपिठ राजदेवी मन्दिरमा आईतबारबाट पूजाअर्चना गर्नेहरुको घुइचो लाग्न थालेका छन् । मन्दिरमा सयौं संख्यामा स्वयमसेवक परिचालन गरिएको छ । मन्दिरको आकर्षक सजावट अगाडी पूजाअर्चना गर्न पुगेकाहरु सेल्फी खिचाउने गरेको देखिन्छ ।
विजया दश्मीमा प्रत्येक वर्ष झै यस वर्ष पनि रावण वधको कार्यक्रम हुने कमिटीले जनाएको छ । ऐतिहासिक धनुष सागर पोखरीमा पानी भित्र नै कृतिम लंका बनाएर लंका दहन गर्ने कार्यक्रम आयोजना गरिने कमिटीका अध्यक्ष साहले बताए ।