टुडेखोज/ जनकपुरधाम : कोरोना संक्रमितको संख्या बढ्दै गएका कारण धनुषामा निषेधाज्ञाको समय फेरी बढाइएको छ । निषेधाज्ञा पुनः एकहप्ताको लागि बढाइएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले जानकारी दिए ।
उनका अनुसार अब भदौ २८ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी रहेनछ । निषेधाज्ञाको अवधीमा अब दिउँसो २ बजेसम्म बजार खाल्न दिने निर्णय भएको छ । यसअघि मध्यान्ह १२ बजेसम्म मात्र बजार खोल्न दिने निर्णय गरिएको थियो ।
खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्यास, तरकारी, फलफूल, दूधडेरी, हार्डवेयर, कपडा पसल लगायतका पसल व्यवसाय सञ्चालकले ग्राहकहरुको तापक्रम नाप्ने, २ मिटरको सामाजिक दूरी कायम गर्ने, मास्क स्नानिटाइजरको प्रयोग गर्ने, नेपाल सरकारबाट जारी भएको जनस्वास्थ्य र सुरक्षा मापदण्ड लगायतका अन्य मापदण्डहरुको समेत पालना गरि अर्को सूचना नभएसम्मका लागि दिउँसो २ बजेसम्म सञ्चालन गर्ने निर्णय गरिएको छ ।
त्यस्तै होटेल तथा रेस्टुरेन्टको हकमा पीसीआर नेगेटिभ भएका व्यक्ति मार्फत मात्र अनलाईन अर्डरका होम डेलेभरि तथा ग्राहक स्वयं आएर प्याकिङ्ग गरि लैजान पाउने र टेकअवे विधिलाई प्रयोग गरि सेवा सञ्चालन गर्न दिइनेछ । साथै होटेलमा भेटघाट तथा जमघट हुनेगरि भीडभाड नगर्न निर्देशन समेत दिइएको छ ।
आज मात्रै जनकपुरधाम उधोग बाणिज्य संघले बेलुका ४ बजेसम्म बजार खोल्न दिनुपर्ने भन्दै मुख्यमन्त्री लालबाबु राउत र प्रमुख जिल्ला अधिकारी भट्टराईलाई ज्ञापन पत्र बुझाएका थिए । हुन त उनीहरुको माग सम्बोधन भएन । यद्दपी बजार खोल्न दिने समय २ घण्टा बढाइएको छ ।