पर्सा । जग्गा किनबेचका क्रममा उठेको राजस्व हिनामिना गरेको अभियोगमा मातलपोत कार्यालय पर्साका तत्कालीन दुई जना मालपोत प्रमुखसहित चार जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
अख्तियारले पर्साका तत्कालीन मालपोत प्रमुखद्वय प्रकाशप्रसाद पोखरेल र गमबहादुर विश्वकर्मा तथा नायब सुब्बा मदनप्रसाद गुप्ता र लेखापाल नागेन्द्रप्रसाद चौधरीविरुद्ध मंगलबार बिगो, जरिवाना र कैदसजाय मागदाबीसहित मुद्दा दायर गरेको हो । अख्तियारका प्रवक्ता भोला दाहालले अनुसन्धानबाट खुलेको तथ्य र प्रमाणबमोजिम चार जनालाई राजस्व हिनामिनाको कसुरमा प्रतिवादी बनाएर मुद्दा दायर गरिएको बताए ।
प्रवक्ता दाहालका अनुसार आव २०७२/७३ मा जग्गा किनबेचका क्रममा उठेको रजिस्ट्रेसन दस्तुर र पुँजीगत लाभकरसहितको राजस्व सरकारी कोषमा दाखिला नगरी कार्यालय प्रमुख र अन्य कर्मचारीको मिलेमतोमा हिनामिना गरेको अनुसन्धानबाट खुलेको थियो । त्यसपछि अघि बढेको अनुसन्धानलाई टुंगोमा पुर्याउँदै अख्तियारले राजस्व हिनामिनामा कार्यालय प्रमुखसहितलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो ।
अख्तियारले तत्कालीन मालपोत प्रमुख पोखरेलविरुद्ध उनको पालामा हिनामिना भएको ९३ लाख ६६ हजार २ सय ९ रुपैयाँ बिगो, हिनामिना भएको राजस्वको दोब्बर जरिवाना र कैद सजायको मागदाबी लिएको छ ।
त्यस्तै अर्का कार्यालय प्रमुख विश्वकर्माले दैनिक लिखत रजिस्ट्रेसनबापत संकलन हुने रकम उठाउने र बुझाउने सन्दर्भमा अनुगमन नगरी पदीय दायित्व निर्वाह नगरेको र केही रकम हिनामिना गरेको कसुरमा प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ । विश्वकर्माविरुद्ध अख्तियारले १ लाख ४१ हजार ८ सय २५ रुपैयाँ बिगो, त्यसको दोब्बर जरिवाना रक कैद सजाय माग गरेको छ ।
तत्कालीन नासु गुप्ता र लेखापाल चौधरीविरुद्ध समान ९५ लाख ८ हजार ३४ रुपैयाँ बिगो, त्यसको दोब्बर जरिवाना र कैद सजाय मागदाबी गरिएको छ ।