काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सो पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले मन्त्री बन्नका लागि रकम मागेको अडियो पुष्टि हुने निष्कर्ष निकालेको छ ।
अडियो पुष्टि हुने निष्कर्ष निकाल्दै सो पार्टीले साँसद पदबाट श्रेष्ठलाई हटाउने निर्णय गरेको छ । उनलाई पार्टीको साधारण सदस्य समेत नरहनेगरी कारबाही गरेको हो । उनको ठाउँमा राष्ट्रिय स्वतन्त्र पार्टीले विन्दबासिनी कंसाकारलाई साँसद बनाने निर्णय पनि गरेको छ ।
को हुन् विन्दवासिनी ?
विन्दवासिनी एसिड पीडितहरुको न्यायका लागि लडिरहेकी अभियन्ता हुन् । उनी आफैं पनि एसिड पीडित हुन् । हेटौंडा निवासी विन्दवासिनीलाई २०७० सालमा एसिड आक्रमण भएको थियो ।
हेटौंडामा रहेको आफ्नै परिवारको भाँडा पसलमा बसिरहेका बेला भारतीय नागरिकले उनलाई बोलाएर एसिड छ्यापेका थिए । आफ्नो प्रेम प्रस्ताव अस्वीकार गरेपछि उनले विन्दवासिनीमाथि सो कुकर्म गरेका थिए ।
एसिड प्रहारबाट विन्दवासिनीको अनुहारमा निकै क्षति पुगेको छ । अहिलेसम्म उनले २० पटक अनुहारको शल्यक्रिया गराइसकेकी छन् । एसिड हान्नेलाई कडा सजायको माग गर्दै उनले निरन्तर पैरवी गर्दै आएकी थिइन् ।