सर्लाही । लालबन्दी नगरपालिका ७ स्थित दुर्गा मन्दिर नजिकैको फोहोरको डंगुरबाट ठूलो मात्रामा नक्कली नोटसहित नोट बरामद भएको छ ।
फोहोर फाल्ने स्थानबाट बेवारिसे अवस्थामा नक्कली नोट बरामद भएको ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रमुख प्रहरी नायव उपरीक्षक शान्ताराम कार्कीले जानकारी दिए ।
उनका अनुसार फोहोर फाल्ने स्थानमा स्थानीयले झोला देखेपछि शंका लागेर हामीलाई खबर गरेका थिए । तत्कालै घटनास्थल पुगेपछि एक हजारका ५ सय ३० थान नक्कली नोटसहित पैसा आकारको ६ सय कागज बरामद भएको छ ।
सर्लाहीमा नक्कली नोटको संगठित अपराधको जालो फैलिँदै गएको छ । नक्कली नोट प्रयोगमा ल्याउन नसकेपछि ती गिरोहले फोहोर फाल्ने ठाउँमा फालेको हुन सक्ने प्रहरीको आंकलन छ ।
विगत तीन महिनायता झण्डै नौ लाख नक्कली नोटसहित १० जनालाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । जसमध्ये ६ जना पुर्पक्षका लागि थुनामा छन् भने तीनजना १–१ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् ।