काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रतिनिधिसभा सांसद ज्ञानेन्द्रबहादुर शाहीले आफूले पाउने मासिक तलबको ३ हजार रुपैयाँ नेपाली खेलाडीलाई दिने घोषणा गरेका छन् ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा आफ्नो धारणा प्रस्तुत गर्ने क्रममा सांसद शाहीले आफ्नो प्रत्येक महिनाको तलबको ३ हजार खेलाडीलाई दिने घोषणा गरेका हुन् । उनले भने, ‘आज म घोषणा गर्न चाहन्छु–मेरो प्रत्येक महिनाको ३ हजार तलब खेलाडीहरुलाई खर्च गर्न चाहन्छु ।’
सांसद शाहीले प्रदेश र संघतर्फका ८८४ सांसदले मासिक ३ हजारको दरले खेलाडीलाई दिने हो भने २६ लाख ५२ हजार खेलाडीले पाउने र त्यसले खेल क्षेत्रमा ठूलो राहत मिल्ने पनि बताए ।
‘आज खेलाडीहरु ८८४ जना सांसदको एक जनाबापत् ३ हजार रुपैयाँ खेलाडीलाई दिने हो भने २६ लाख ५२ हजार खेलाडीले पाउँछन्,’ उनले भने ।
यसैगरी प्रदेश खारेज र प्रतिनिधिसभाको सांसदको संख्या घटाउन पनि उनले माग गरेका छन् । उनले भने, ‘प्रदेशलाई खारेज गरौँ । सांसदको संख्या १६५ जनाबाट १०५ जना प्रत्यक्ष बनाऔँ । यहाँ २७५ सांसदको आवश्यकता छैन । ८८४ लाई घटाऔँ ।’