काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले आफूलाई शक्ति केन्द्रको रूपमा स्थापित गर्नेगरी सांगठनिक संरचना प्रस्ताव गरेका छन् । जसपाको जारी संगठनात्मक संरचना बहुपदीय प्रणाली भए पनि शक्ति जति अध्यक्षमा केन्द्रित गर्न खोजिएको छ ।
बहुपदीय संगठनात्मक संरचना भए पनि सम्पूर्ण अधिकार केन्द्रीय अध्यक्षमा केन्द्रित गर्ने प्रस्तावमा यादवले आफ्नो राजनीतिक भविष्य हेरेर निर्णय लिएको अनुमान गरिँदैछ । विधानको प्रस्तावित मस्यौदामा पार्टीको संगठनात्मक संरचना संघीय प्रणाली अनुसारको चेन अफ कमाण्डमा हुने उल्लेख छ ।
यद्यपि, संघीय संरचना भने उसले प्रस्ताव गरेको पहिचानमा आधारित संघीयता अनुसार हुनेछ । विधानले संघीय परिषद् र केन्द्रीय समिति रहने व्यवस्था गरिएको छ । जुन, पहिलादेखि कै व्यवस्था हो । संघीय परिषद्को अध्यक्ष बनाए पनि कार्यकारी अधिकार भने केन्द्रीय समितिको सम्पूर्ण अधिकार कार्यकारी अध्यक्षामा केन्द्रित हुनेछ ।
विधानको ३४ धारा अनुसार संघीय परिषद् अध्यक्षले समग्र पार्टी कामको नेतृत्व गर्ने र पार्टीको केन्द्रीय सल्लाहकार समिति, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय निर्वाचन आयोग, केन्द्रीय लेखा परीक्षण आयोगलगायत केन्द्रीय निकायहरूको संयोजन गर्नुका साथै निर्णयहरू कार्यान्वयनको रेखदेख गर्ने गराउने, पार्टीको नीति निर्माणमा भूमिका खेल्ने, राष्ट्रिय, अन्तर्राष्ट्रिय क्षेत्रमा पार्टीको प्रतिष्ठा बढाउन पहल गर्नेलगायत जिम्मेवारी तोकिएको छ ।
अर्थात, संघीय अध्यक्षलाई आंललकारिक अध्यक्षको रूपमा राखिएको छ । संघीय परिषद्को अध्यक्ष अशोक राईलाई बनाउने सम्भावना रहेको छ । यसअघि बाबुराम भट्टराई संघीय परिषद्को अध्यक्ष रहेका थिए ।