काठमाडौं । अहिले सामाजिक सञ्जालमा केदारनाथ मन्दिर परिसरको एउटा भिडियो क्लिप निकै भाइरल बनिरहेको छ । मन्दिर परिसरमा दर्शनार्थीको निकै चलपहल देखिन्छ । भक्तजनहरूको भिड देखिन्छ ।
भिडको बिचबाट पहेँलो लुगा लगाएका एक युवक मन्दिरतर्फ फर्किएर प्रार्थना गरिरहेका हुन्छन् । युवकको छेउमा पहेँलो लुगामा सजिएकी एक युवती हुन्छिन् । उनी हात पछाडि लगेर औँठी माग्छिन् । कसैले उनको हातमा औँठी थमाउँछ ।
यतिन्जेसम्म युवकलाई केही पनि थाहा नभएको देखिन्छ । युवक प्रार्थनामै व्यस्त रहेको देखिन्छन् ।
हातमा औँठी लिएकी युवती सिधै घुँडा टेक्छिन् र प्रेम प्रस्ताव गर्छिन् । युवक निकै छक्क परेको देखिन्छ । दुवैजना हाँस्छन् । अंकमाल गर्छन् । र, भिडियो सकिन्छ ।
उनीहरूको क्रियाकलापलाई वरिपरिका मान्छेहरूले हेरिरहेको हुन्छ् । कोही हाँसिरहेका हुन्छन् त कसैले भिडियो खिचिरहेका छन् । तर, उनीहरूलाई कुनै प्रवाह हुँदैन ।
दुई दिन पुरानो भनिएको भिडियो विशेष गरी भारतमा भाइरल बनिरहेको छ । जसलाई लिएर सामाजिक सञ्जालमा बहस भइरहेको छ । कतिपयले आपत्ति जनाएका छन् भने कतिपयले प्रेमको निकै सुन्दर अभिव्यक्ति भनेका छन् ।
बद्रीनाथ–केदारनाथ मन्दिर समितिका अध्यक्ष अजेन्द्र अजयले धार्मिक स्थलको मर्यादा, आस्था र परम्परा रहेको र भक्तजनले सोहीअनुसार व्यवहार गर्नुपर्ने बताएका छन् ।
भारतको उत्तराखण्ड राज्यको रुद्रप्रयाग जिल्लामा अवस्थित केदारनाथ हिन्दु धर्मावलम्बीको प्रसिद्ध मन्दिर हो ।