पर्सा । असार १० देखि जन्मको आधारमा वंशज नागरिकता विरतण गर्न थालेको जिल्ला प्रशासन कार्यालय पर्साले मंगलबारसम्ममा ९ सय ७५ वटा नागरिकता वितरण गरिसकेको छ ।
२०६३ सालमा नेपाली नागरिकता पाएका भारतीयका बालिग सन्तानले यसरी नेपाली नागरिकता पाइरहेका छन् । सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलका अनुसार हाल टोकन प्रणालीको आधारमा यसरी नागरिकता वितरण भइरहेको हो ।
‘नागरिकता लिन आउनेहरुको अत्यधिक चाप बढेपछि असार १० गते पहिलो दिन बाहेक त्यसपछिका दिनहरुमा टोकन प्रणालीबाटै नागरिकता वितरणको काम भइरहेको छ,’ उनले भने, ‘सोमबारसम्ममा ६ हजार ५ सय ४२ वटा टोकन वितरण भइसकेको छ ।’
टोकन प्रणालीबाट नआउनेलाई नागरिकता वितरण नगरिएको पनि उनले बताए । पछिल्लो समय दैनिक ७० देखि १ सयको हाराहारीमा नागरिकता वितरण भइरहेको उनले बताए ।
यसरी नागरिकता लिनका लागि कुनै समय सीमा नरहेको र आवश्यक कागजातसहित टोकन प्रणालीको बाटोबाट आउने सबैले नागरिकता पाउने उनले बताए ।
यसैबीच नागरिकता दिलाउन जिल्ला प्रशासन कार्यालयकै कर्मचारी र बिचौलियाहरुबीच मिलेमतो भई नागरिकता वितरण भएको भन्दै विभिन्न संचारमाध्यम तथा सामाजिक सञ्जालमा समेत आलोचना भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको छानबिन टोली आइतबार जिल्ला प्रशासन कार्यालय पर्सामा आएर छानबिन गरी फर्किएको थियो ।
सहायक प्रजिअ पौडेलले भने अख्तियारको टोलीले अनुगमन गर्दा त्यस्तो अनियमितता केही नपाएको बताएका छन् । ‘सामाजिक सञ्जालमा र संचार माध्यमहरुमा आरोप लगाइएजस्तो अनियमितता भएको अख्तियारको टोलीले पनि पाएन,’ उनले भने, ‘जस्तोसुकै दबाब आए पनि हामीले कानुन र नियम मिचेर काम गरेका छैनौं ।’
कार्यालयमा बिहान १० बजेदेखि नै नागरिकता लिन आउने सेवाग्राहीहरुको बाक्लो भीड लाग्ने गरेको छ । कार्यालयले पनि नागरिकता वितरण कार्यलाई नै हाल प्राथमिकतामा राखेको छ ।