काठमाडौँ । वन तथा वातावरणमन्त्री वीरेन्द्रप्रसाद महतोले वनको जग्गामा नेताहरुको आँखा लाग्ने गरेको बताएका छन् ।
बिहीवार प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै मन्त्री महतोले वनको जग्गामा नेताहरुको ठूलो आँखा लाग्ने गरेको बताएका हुन् ।
उनले नेताहरुले वनको जग्गा किन्नका लागि राजनीतिक दबाब दिने गरेका बताए । उनले हाइड्रोपावरका अड्किएका काम गर्न फाइल ल्याउनका लागि आफूले निर्देशन दिएको भएपनि आफ्नो टेबलमा हालसम्म फाइल नआइपुगेको बताए ।
उनले भने, ‘वनको जग्गामा पब्लिक भन्दापनि नेताहरुको आँखा ठूलो लाग्ने। अनि राजनीतिक दबाब । अनि के–के छुटेजस्तो ठूल्ठूला नेताहरु खाली जंगलको जग्गा किन्नुपर्यो, त्यहाँ यो गर्दिनुपर्यो । त्यहाँ त्यो गर्दिनुपर्यो । सबैको आँखा जंगलमा जान्छ । म आएपछि हाइड्रोपावरको कतिवटा फाइल छ ल्याइदिनुस् भन्दा एउटा पनि आउँदैन टेबलमा । प्रक्रिया यति झन्झटिलो छ, कागज एक ठाउँबाट अर्को ठाउँमा पुग्दै महिना, दुई महिना त त्यसैमा लाग्छ । अहिले सबभन्दा समस्या भएको सबै प्रदेशमा छ ।’
उनले डीएफओले समेत मन्त्रीको कुरा नसुन्ने बताए । डिएफओलाई रुख, र जग्गा कति छन् छुट्याएर पठाउने निर्देशन दिएपनि निर्देशन सुन्दै नसुन्ने उनको भनाई छ । तर व्यापारी गएर लेनदेनको कुरा गरेमा भने डिएफओले काम गर्ने गरेको उनले बताए ।
उनले भने, ‘डिएफओलाई यहाँबाट फोन गर्यो त्यहाँ कति वटा रुख छ, कति जग्गा छ छुट्टयाएर पठाइदेउ भन्दाखेरी मरिगए डिएफओले सुन्दैन । सुन्दै सुन्दैन उसले । व्यापारीहरुले त्यहाँ गएर आफ्नो लेनदेनको कुरा गर्यो भने उसले तुरुन्त पठाउने । अब त्यो छैन भने छ, सात महिना कुर्ने भनेजस्तो छ । यो काम गर्न अफ्ठ्यारो छ ।’
उनले काठ तौलिने सूत्रका कारण नेपालको काठ बिक्री वितरण हुन नसकेको बताए । उनले सूत्रका कारण काठको मूल्य बढी भएको र त्यसकारण बिक्री हुन नसकेको बताए । यद्यपी यस सम्बन्धमा निर्णय गर्नका लागि मन्त्रालयले एउटा समिति निर्माण गरीसकेको उनले जानकारी दिए ।