जनकपुरधाम । मदर्सा शिक्षालाई मुलधारको शिक्षामा समाहित गराउन मदर्सा शिक्षा बोर्ड गठनको माग गर्दै आम जनता पार्टीको भातृ संगठन आम मुस्लिम मोर्चाले जनकपुरधाममा प्रदर्शन गरेको छ ।
मधेश प्रदेशसभामा लामो समयदेखि अड्केको मदर्सा शिक्षा विधेयक पास गराउनुपर्ने मागसहित मोर्चाले बिहीबार जुलुस प्रदर्शन गर्दै मुख्यमन्त्री सरोज कुमार यादवलाई ज्ञापनपत्र समेत बुझाएको छ । मोर्चाले मदर्सा शिक्षा विधेयक, मुस्लिम युनिभर्सिटीसहितका माग गर्दै ज्ञापनपत्र बुझाएको हो ।
मदर्सा शिक्षालाई पनि राष्ट्रिय मुलधारको शिक्षामा ल्याउन मदर्सा शिक्षा विधेयक आवश्यक रहेको भन्दै त्यसलाई सभाबाट पारित गर्न मोर्चाले माग गरेको छ । यसअघि लालबाबु नेतृत्वको सरकारले मदर्सा शिक्षा विधेयक प्रदेशसभामा लगे पनि पास गराउन सकेका थिएन ।
मोर्चाका संयोजक लालबाबु मन्सुरीको अगुवाइमा बुझाएको ज्ञापनपत्रमा मदर्सा शिक्षालाई व्यवस्थित गर्दै ‘मुस्लिम यूनिभर्सिटी’ स्थापना गर्नुपर्ने माग राखिएको छ ।
परम्परागत रुपमा चल्दै आएको मदर्सा शिक्षा संकटमा रहेको मन्सुरीले बताए । उनले भने, ‘मुसलमानहरुको मौलिक संस्कृति एवं रीतिरिवाजको संरक्षण र उत्थानको सट्टा लोप भइरहेकोले राज्य यसप्रति गम्भीर हुनु आवश्यक छ ।’
न्याय र समानताको सट्टा मुस्लिम सामुदायसँग राज्यले खुलेआम विभेद र निषेध गर्ने कार्य गरिरहेको आरोप लगाउदै उनले संविधानले दिएको अधिकार मुस्लिम सामुदायले व्यवहारमा पनि पाउनुपर्ने बताए ।
आर्थिक समाजिक, शैक्षिक रुपमा पछाडि परेको मुस्लिम सामुदायलाई राज्यको हरेक अंग र निकायमा विशेषाधिकारको व्यवस्था गर्नुपर्ने, इस्लाम धर्मावलम्बीहरुको पर्वहरुमा सार्वजनिक बिदा राष्ट्रिय क्यालेण्डरमै समाहित गर्नुपर्ने, इस्लाम धर्म र संस्कृतिको सम्वर्द्धनका लागि प्रर्याप्त बजेटको व्यवस्था गर्नुपर्ने मोर्चाको माग छ ।