राजविराज । ट्रकको ठक्करबाट मंगलबार सप्तरीको रूपनीमा एक बालकको मृत्यु भएपछि चालकलाई कारबाही र पीडितलाई क्षतिपूर्तिको माग गर्दै स्थानीयहरूले पूर्वपश्चिम राजमार्गमा प्रदर्शन गरेका छन् । उनीहरूको प्रदर्शनले अहिले रूपनी सडक खण्ड अवरुद्ध बनेको छ ।
ट्रकको ठक्करबाट रुपनी १ का १२ वर्षीय मो रहमानको मृत्यु भएको प्रहरीले जनाएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ प १०८४ नम्बरको ट्रकले सोही दिशातर्फ साइकलमा गइरहेका मो रहमानलाई ठक्कर दिएको थियो ।
ट्रकको ठक्करबाट सख्त घाइते भएका उनलाई स्थानीय यूनिक अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पढाइएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीले ट्रकसहित चालक मोरङको बुढीगंगा गाउँपालिका ३ गोकुवाका रामबहादुर बुढाथोकीलाई नियन्त्रणमा लिएको छ ।