काठमाडौं, १४ असोज । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सभामुखको राजीनामा कार्यबाहक दिए जस्तो भएको भन्दै प्रष्ट रुपमा राजीनामा आउनुपर्ने माग गरेको छ ।
मंगलबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेसले सभामुखमाथि गम्भीर प्रकृतिको आरोप लगाएको भन्दै स्पष्ट भाषामा राजीनामा दिइ अनुसन्धानमा सहयोग गर्नुपर्ने जनाएको हो । पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कृष्णबहादुर महराले सभामुखबाट दिएको राजीनामा अपुरो भएको बताए ।
उपसभामुखलाई बुझाएको राजीनामा पत्रमा छानबिन प्रक्रिया नसकिएसम्म भनिएको भन्दै उनले भाषाका बिषयमा स्पष्ट पार्नुपर्ने बताए । छानबिनका लागि एक वर्षसम्म लाग्यो भने संसद कार्यबाहकले चलाउने भन्ने उनको प्रश्न थियो । कांग्रेस प्रवक्ता शर्माले महरामाथि लागेको यौन दुर्व्यहारको आरोपबारे सामान्य नागरिक सरह छानबिन गर्नुपर्ने समेत बताए ।
उनले बाँके र तनहुँमा काग्रेस नेतामाथिको आक्रमण नवमण्डले चरित्रको प्रकट स्वरुप भएको टिप्पणी गरे । उनले ०३३ सालमा राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्कनु भएपछि जननायक वीपी कोइरालाले प्रारम्भ गगरेको चियापानको कार्यक्रम असोज २६ गते आइतबार कोजाग्रत पूर्णिमाका दिन गरिने जानकारी दिए ।