काठमाण्डौं, २६ असोज । पूर्वराष्ट्रपति रामवरण यादवले राजनीतिक नेतृत्वमा दीर्घकालीन सोच र दृष्टिकोण नभएको बताएका छन् ।
गिरिजाप्रसाद कोइराला फाउण्डेशनले आइतबार काठमाण्डौमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति यादवले यस्तो धारणा राखेका हुन् । उनले स्वर्गीय गिरिजाप्रसाद कोइरालामा जस्तो अहिलेका नेतामा देश बनाउने दृष्टिकोण नभएको बताए ।
तत्कालीन सशस्त्र द्वन्द्वको अन्त्यसँगै शान्ति प्रक्रिया र लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने सवालमा स्वर्गीय कोइरालाले स्पष्ट दृष्टिकोण राखेकाले स्वदेशी र छिमेकी राष्ट्रको पनि साथ र सहयोग प्राप्त भएको भन्दै उनले वर्तमान नेतामा भने ‘भिजन’ नै स्पष्ट नभएको टिप्पणी गरे ।
उनले भने, ‘अहिलेका नेताहरुमा न हृदय छ, न भिजन छ । होराइजन नै सानो देखिएको छ ।’ शान्ति प्रक्रिया, गणतन्त्र स्थापना, राष्ट्रियता र प्रजातन्त्रमा स्वर्गीय कोइरालाको योगदान अतुलनीय रहेको उनको भनाई थियो ।