काठमाडौं, २८ असोज । सांसद प्रमोद साहको रिहा माग गर्दै राष्ट्रिय जनता पार्टी, नेपालले चरणबद्ध आन्दोलन घोषणा गर्ने भएको छ ।
जनकपुर एयरपोर्टको बुद्ध एयरको काउन्टर तोडफोड र कर्मचारीलाई दुरव्यवहार गरेको आरोपमा सांसद साहलाई आज पक्राउ गरेको छ । राजपा नेपालले आज ठाउँ ठाउँमा रिहाको माग गर्दै प्रदर्शन गरेको छ । आजको यो दवावले सांसद साहलाई रिहा नगरे भोलीदेखि चरणवद्ध आन्दोलनको घोषणा हुने राजपाले जनाएको छ ।
जिल्ला जिल्लामा आन्दोलनको विषयमा छलफल चलिरहेको छ । चक्का जामदेखि लिएर हडतालसम्मको कार्यक्रमको तयारी भइरहेको र जनकपुरस्थित बुद्ध एयरको कार्यालयमा तालाबन्दी पनि गर्ने तयारी भइरहेको छ ।
सांसद साहले जनताको चाहना अनुसार एयरपोर्टमा कुरा उठाउनु भएको हो तर सरकारले उल्टै कार्यवाही गरेको राजपाको आरोप छ । जनताको हितमा बोल्नेलाई कारवाही गर्ने सरकारको विरुद्धमा पनि मधेशी जनता आन्दोलन गर्न तयार भएको राजपाले जनाएको छ ।