काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले आज बुधवार जातीय विभेदविरुद्ध खबरदारी कार्यक्रम गर्दैछ ।
हालै जुम्लामा अन्तरजातीय विवाह गरेको विरोधमा घरमा आगजनी गरिएको र दाङमा कथित तल्लो जात रहेको भनी डेराबाट निकालिएको घटनाको विरोधमा खबरदारी कार्यक्रम गर्न लागिएको पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
उनका अनुसार काठमाडौंको माइतीघर मण्डलामा असार २० गते दिउँसो १ बजे घटनाको विरोधमा खबरदारी कार्यक्रम गरिँदैछ । कार्यक्रममा पार्टीका नेता, कार्यकर्ता लगायत आमनागरिकलाई जातीय विभेद विरुद्धको आन्दोलनमा सहभागी हुन पार्टीले आह्वान गरेको छ ।
कार्यक्रम पार्टी सम्बद्ध शिल्पी दलित विशेष राष्ट्रिय समिति र जनता समाजवादी दलित मुक्ति संगठनको संयुक्त आयोजनामा हुने जनाइएको छ ।