काठमाडौं, ९ भदौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालय बाराका लेखापाल जयसिंह राय थारुलाई रु २५ हजार घुस लिएको अभियोगमा आज पक्राउ गरेको छ ।
उपभोक्ता समितिले सम्पन्न गरेको कामको भुक्तानी गरेवापत सेवाग्राहीसँग पटकपटक घुस माग गरेको भन्ने उजुरीका आधारमा आयोगको हेटौंडाबाट गएको टोलीले लेखापाल थारुलाई पक्राउ गरेको हो । आयोगको टोलीले उहाँलाई कलैया भान्छाघरबाट पक्राउ गरी थप अनुसन्धान गरिरहेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।
यसैगरी आयोगले भूमिसुधार तथा मालपोत कार्यालय सिरहाका नायब सुब्बा मिथिलेश्वर ठाकुर विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । जग्गाधनीको स्रेस्ताबाट जग्गाको मोहीको लगत कट्टा गर्ने प्रयोजनका लागि ठाकुरले सेवाग्राहीसँग रु पाँच हजार घुस लिएको अभियोग लागेको छ । आयोगले रु पाँच हजार बिगो कायम गरी अदालतमा मुद्दा दायर गरेको जनाएको छ ।
यस्तै आयोगले बाँसगढी सवडिभिजन कार्यालय बर्दियाका सहायक वन अधिकृत अनिलकुमार गुप्तालाई रु १० हजार घुस लिएको अभियोगमा पक्राउ गरेको छ । उपभोक्ता समितिको काठ मिलमा चिरान सिफारिस गरेवापत सेवाग्राहीसँग घुस माग गरेको भन्ने उजुरीका आधारमा आयोगको सम्पर्क कार्यालय नेपालगञ्जबाट गएको टोलीले सहायक वन अधिकृत गुप्तालाई पक्राउ गरेको हो । आयोगको टोलीले उहाँलाई बाँसगढी नगरपालिका–७ देउडाकला बर्दियाबाट पक्राउ गरी थप अनुसन्धान गरिरहेको जनाएको छ ।