काठमाडौं, २० भदौं । सर्वोच्च अदालतले शनिबार हुन लागेको त्रिभुवन विश्वविद्यालय अन्तर्गतको चिकित्सा शास्त्र अध्ययन संस्थानको एमबिबिएसको प्रवेश परीक्षा स्थगित गर्न आदेश दिएको छ । आयुष ओझासमेतले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानविरुद्ध दिएको उत्प्रेषणको रिटमा सुनवाई गर्दै शुक्रबार सर्वोच्चले सो अन्तरिम आदेश दिएको हो ।
सर्वोच्चका न्यायाधीश तेजबहादुर केसीको एकल इजलाशले दुवै पक्षलाई राखी छलफल गर्नुपर्ने भएकाले प्रत्यर्थीलाई २५ भदौमा छलफलका लागि बोलाएको छ। आइओएमा र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भदौ २१, २२ र २३ गते एमबिबिएसको प्रवेश परीक्षा तोकिएको थियो । प्रवेश परीक्षा नियमसंगत नभएको भन्दै विद्यार्थीले सर्वोच्चमा रिट दायर गरेका थिए ।
विद्यार्थीले माग पूरा नभएसम्म एमबिबिएस, बिडिएस, नर्सिङलगायतका मेडिकल शिक्षाका नयाँ भर्नाका लागि प्रवेश परीक्षा हुन नदिने बताएका छन् । समितिले तोकिएको भन्दा बढी शुल्क लिने मेडिकल कलेजलाई कारबाही गर्नुपर्ने, चिकित्सा शिक्षा ऐनमा भएअनुसारको ७५ प्रतिशत छात्रवृत्तिको व्यवस्था हुनुपर्ने, साझा प्रवेश परीक्षा हुनुपर्नेलगायत ८ सूत्रीय माग राखेका छन् ।
काठमाडौं विश्वविद्यालय, बिपि कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिन कार्यालयमा समेत उनीहरूले तालाबन्दी गरेका छन् । – थाहा खबर