काठमाडौं, २६ भदौं । पानीले गाडी चल्छ भन्दा जो कोही निधार खुम्चाउँछन् । विकसित देशका वैज्ञानिकले गर्न नसकेको आविष्कार नेपालमा भन्दा पत्याउन सक्दैनन् । तर, बुटवल मिलन चोकका शिशिर जिसीले पानीबाट गाडी चलाउने उपकरण तयार पारेका छन् ।
यो उपकरण जुनसुकै गाडी तथा मोटरसाइकलमा प्रयोग गर्न सकिने उनको दाबी छ । उनले भारतको बैङलोरबाट मेकानिकल इन्जिनियरिङ गरेका हुन् । उनले ‘फ्युल सेभर किट’ तयार पारेका हुन । यो ठूलो–साना गाडी र मोटरसाइकलमा प्रयोग गर्न सकिने डिभाइस हो ।
यसको प्रयोगले इन्धनबिना गाडी चल्ने भने होइन । ४० प्रतिशत पानी र ६० प्रतिशत पेट्रोलियमबाट गाडी चल्ने उनको भनाइ छ । ‘फ्युल सेभ किट’ नामक डिभाइसमा प्रशोधित पानी राखिन्छ ।
पानीबाट हाइड्रोजन ग्यास पाइपलाई गाडीको इन्जिनमा लगेर जोडिन्छ । हाइड्रोजनको क्षमता पेट्रोलभन्दा तीन गुणा बढी हुने भएकाले यसले इन्धनले गर्नुपर्ने ४० प्रतिशत काम गर्छ । अन्नपूर्ण दैनिकले खबर छापेको छ ।