जनकपुरधाम, ६ असोज । महोत्तरीको पिपरा गाउँपालिका ७ स्थित नदीले कटान गरेपछि जनकपुर–मटिहानी सडक ठप्प भएको छ । अहिले मटिहानीबाट कुनै पनि सवारी साधान जनकपुर आउने गरेका छैन । सडक अवरुद्ध बनेपछि सो क्षेत्रका सर्वसधारण समस्यामा परेका छन् ।
दुई दिन अगाडीको वर्षापछि आएको बाढीले बाटो बगाएको स्थानीय अरुण साहले जानकारी दिए । उनका अनुसार दिनमा सो ठाउँमा नदी पार गराउन स्थानीय युवकहरुले रकम उठाउने गरेका छन् । मोटरसाइकल पार गर्दा ५० रुपैया र साइकल पार गर्दा २५ रुपैया युवाहरुले लिने गरेको उनले सुनाए ।
साँझ र विहानको समयमा युवाहरु नहुँदा मोटरसाइकल र साइकल समेत पार गराउन मुस्किल पर्छ । नदीमा फलामको पोल राखेको छ । तर सहज रुपमा सवारी साधन सक्ने अवस्था छैन । पुल निर्माण गर्ने ठेकेदारले समयमा काम नगर्दा उक्त ठाउँमा पटक पटक सडक अवरुद्ध हुने गरेको छ ।
सडक ठप्प भएपनि सम्बन्धित गाउँपालिकाले चासो लिएका छैन । गाउँपालिकाकी उपप्रमुख नुनुदेवी दासले नदीले कटान गरेपछि सडक ठप्प भएको विषयमा जानकारी नभएको बताइन् । उनले भनिन्, ‘कसैले खबर पनि गरेको छैन । म बुझेर जानकारी गराउँछु ।’ नदी पार गर्न स्थानीयले रकम उठाइरहेको विषयमा भने उनले केहि बताउन चाहेनन् ।