सप्तरी, ७ असोज । कीर्ते गरी उपभोक्ता समिति गठन गरेको र सरकारी कागजात कीर्ते गरेको आरोपमा पूर्वाधार तथा यातायात निर्देशनालय जनकपुरका सिनियर डिभिजनल इञ्जिनियर राजकुमार गोइत जेल चलान भएका छन् ।
उच्च अदालत जनकपुर राजविराज इजलासले भदौ ३० गते थुनामा राखी मुद्दाको पुर्पक्ष गर्न दिएको आदेशअनुसार सोमबार अदालतमा हाजिर भएका गोइतलाई राजविराज कारागारमा थुनामा पठाएको अदालतले जनाएको छ ।
जिल्ला अदालतले गत जेठ ६ गते उनलाई ४ लाख रुपैयाँ धरौटीमा पुर्पक्षका लागि तारेखमा रिहा गरेको थियो। जिल्ला अदालतको बेरितको आदेश बदर गर्दै गोइतले साधारण तारेखमा रिहा गर्न माग गरेका थिए । सोही मुद्दामा पूर्वसांसद तथा राजपा नेपालका केन्द्रीय सदस्य ुबिपी यादवु भनिने विश्वनाथप्रसाद यादव र राजपा नेपालका अर्का केन्द्रीय सदस्य हरिनारायण मण्डल थुनामा छन् ।
सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिका तथा छिन्नमस्ता गाउँपालिकामा प्रदेश २ सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा सञ्चालित सडक निर्माण योजनाका लागि कीर्ते गरी उपभोक्ता समिति बनाएको तथा सरकारी कार्यालयको कागजात कीर्ते गरेको अभियोगमा यादव र मण्डल गत बैसाख ५ गते पक्राउ परेका थिए ।
पूर्वाधार विकास डिभिजन कार्यालय सिरहाका सिनियर डिभिजनल इञ्जिनियर रहेका बेला गोइतले राजपा नेपालका केन्द्रीय सदस्य एवं पूर्वसांसद यादव र राजपा नेपालका अर्का केन्द्रीय सदस्य मण्डलसँग मिलेर सरकारी कार्यालयको कागजात कीर्ते गरी भ्रष्टाचार गरेको अभियोग छ।
- रासस/नेपाल लाइभ