काठमाडौं, ८ असोज । ह्याकरले कृषि विकास बैंकको करिब २ करोड रुपैयाँ लुटेका छन् । बैंकको सिरहा शाखाबाट काठमाडौंमा ट्रान्सफर गरिएको उक्त रकम ह्याकरले लुटेका हुन् ।
ह्याक गरिएको उक्त रकम काठमाडौंबाट निकाल्न लाग्दा प्रहरीले ३ जनालाई पक्राउ गरेको नेपाल लाइभले समाचार सम्प्रेशन गरेको छ । उनीहरुलाई मंगलबार दिउँसो ह्याक गरी लुटिएको रकम निकाल्दा-निकाल्दै प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले पक्राउ परेकाहरुको नाम गोप्य राखेको छ भने कसरी ह्याक गरी रकम निकालियोे भन्नेबारे पनि केही बताएको छैन । पक्राउ परेका व्यक्ति नेपाली नैे हुन् वा विदेशी नागरिक हु्न भन्नेबारे पनि प्रहरीले केही खुलाएको छैन ।
प्रहरीले यसबारे बैंकका कर्मचारीसहितको सहयोगमा अनुसन्धान सुरु गरेको छ । बेलैमा पक्राउ गरिएकाले ह्याक गरी निकाल्न लागिएको ठूलो रकम जोगिएको प्रहरीले जनाएको छ ।
यसअघि पनि चिनियाँ र फ्रेन्च ह्याकरको समूहले झण्डै २ करोड रुपैयाँ विभिन्न बैंकबाट ह्याक गरी निकाल्दै गर्दा महानगरीय प्रहरी परिसरले पक्राउ गरेको थियो । जसमध्ये ५ चिनियाँ र एक फ्रेन्च नागरिकसहित ३ नेपाली पक्राउ परेका थिए । २ चिनियाँ भने अझै फरार छन् ।