काठमाडौं, १४ असोज । सभामुख कृष्णबहादुर महरामाथि यौन दुव्र्यवहार आरोप लगाएकी संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले एक दिनमै कुरा फेरेकी छन् ।
आइतवार राति सभामुख महराले कोठैमा आएर जबरजस्ती यौन दुर्व्यवहार गरेको आरोपसहितको समाचार सार्वजनिक भएको २४ घण्टा नबित्दै घटनामा ट्वीस्ट आएको हो । यो प्रकरणमा गम्भीर नैतिक संकट परेपछि महराले सभामुख पदबाट राजीनामा दिएको केही घण्टापछि रोशनीले सञ्चारकर्मीहरुसँग कुरा गर्दै आइतवार राति आफ्नो कोठामा कोही पनि नआएको दाबी गरेकी छन् ।
‘महरा सर मेरो बुवा जस्तो मान्छे बुवाको उमेरको मान्छे, मलाई उहाँले त्यही किसिमको व्यवहार पनि गर्नुभएको छ। बुवा जस्तो मान्छेबाट छोरीमाथि त्यस्तो काम हुने म कल्पना पनि गर्न सक्दिनँ’, उनले मंगलबार भनेकी छन्, ‘कर्मचारी समायोजनका क्रममा आफुले भनेको ठाउँमा जान नपाउँदा मैले केही रिस पोखेकी हुँ। आवेशमा आएर मैले गलत आरोप पनि लगाएकी हुँ तर महरा सरबाट ममाथि त्यस्तो कुनै दुर्व्यवहार भएको छैन।’ – थाहा खबर