काठमाडौं, २५ असोज । नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाल अब भूपरिवेष्ठि राष्ट्र नरहने भन्दै केरुङ–काठमाडौं रेलमार्गको संभाव्यता अध्ययन तत्काल सुरु हुने बताएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीसँग शितल निवासमा भएको भेटवार्ता र सोल्टीमा आयोजित रात्रीभोज दुबैमा सीले रेलमार्गको संभाव्यता अध्ययन सुरु हुने बताएका छन् । शितल निवासमा राष्ट्रपति भण्डारी र सीबीच करिब ४० मिनेट वार्ता भएको थियो ।
राष्ट्रपति भण्डारीले केरूङ–काठमाडौं रेलमार्गलाई पोखरा र लुम्बिनीसम्म जोड्नु पर्ने दोहोर्याएपछि सीले पहिला केरुङ–काठमाडौं खण्डको संभाव्यता अध्ययन गर्नु पर्ने बताएका थिए ।
‘राष्ट्रपति सीले शितल निवासमा भनेकै कुरा रात्रीभोजमा पनि दोहोर्याए’, त्यहाँ सहभागी परराष्ट्र मन्त्रालयका एक अधिकारीले राष्ट्रपति सीको भनाइ उद्धृत गर्दै भने, ‘नेपाल अब लामो समय भूपरिवेठित रहिरहने छैन, केरुङ–काठमाडौं रेलमार्गको संभाव्यता अध्ययन तत्काल सुरु हुन्छ ।’
सीले हिमालय नेपाल–चीन मित्रताको सेतु बन्ने बताएका छन् । राष्ट्रपति भण्डारीले आफ्नो सम्बोधनमा नेपाली जनताले केरुङ–काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्ग जोडिएको देख्न चाहेको बताएकी थिइन । – नेपालखबर