जनकपुरधाम, २८ असोज । जनकपुर एयरपोर्टमा बुद्ध एयरको काउण्टरमा तोडफोड गरेको आरोपमा संघीय सांसद प्रमोद साहलाई पक्राउ गरेको विरोधमा राजपाले आन्दोलनको घोषणा गरेको छ ।
राजपा नेपाल धनुषा जिल्ला अध्यक्ष मण्डलको मंगलबारको बैठकले साह पक्राउको विरोधमा आन्दोलनको घोषणा गरेको हो। संयोजक प्रमोद यादवले जारी गरेको निर्णयमा बुधबार बिहान आठ बजे जनकपुरधाम रमानन्द चोकमा १ घण्टा चक्का जाम गर्ने, जनकपुरमा रहेको बुद्ध एयरको कार्यालयमा तालबन्दी गर्ने, दिउँसो अन्तरक्रिया गर्ने उल्लेख छ ।
बुद्धको काण्टर तोडफोड गरेको आरोपमा साह काठमाडौंमा पक्राउ परेका थिए । बुधबार जिल्ला अदालत धनुषामा पेस गरिने भएको छ ।
सर्लाही क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद साह जहाज ढिलो हुँदा जनकपुर विमानस्थलमा रहेको बुद्ध एयरको काउण्टरमा तोडफोड गर्नुका साथै म्यानेजर विजय सिंहमाथि हातपात गरेका थिए । उनीमाथि मैगलबार नागरिक उड्डयन प्राधिकरणले गैर सैनिक हवाई उडान ऐन २०१५ अन्तर्गत जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गराएको छ ।
मुद्दामा दोषी ठहर भए सांसद साहलाई ५ वा १० वर्ष कैद सजाय हुने व्यवस्था रहेको धनुषाका एसपी शेखर खनालले जानकारी दिए । – थाहाखबर