काठमाडौं । आम जनता पार्टी आजपाका अध्यक्ष प्रभु साहले नेपालीको रोजगारी पाउने संवैधानिक हकको कार्यान्वयनका लागि गम्भीर बन्न सरकारलाई आग्रह गरेका छन् ।
बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले नेपालीहरु विदेशमा रोजगारी नपाएर तड्पिरहने तर नेपालमा विदेशीहरुले निर्वाध रोजगारी गरिरहने अवस्था रहेको बताए ।
नेपालमा लाखौं विदेशीहरुले सरकारी मान्यताप्राप्त कम्पनीहरुमा, उद्योगहरुमा काम गरिरहेको सांसद साहले बताए । ‘नेपालका युवाहरु रोजगारीको खोजीमा विदेशमा तड्पिरहेका छन्, मरिरहेका छन् । विदेशीहरु भने नेपालमा बेरोकतोक रोजगारी पाइरहेका छन् । यो सबै दृश्य हेर्दा लाग्छ– नेपालमा नेपालीहरुहरुको सरकार हो कि विदेशीहरुको सरकार हो ?’ उनले प्रश्न गरे ।
नेपालीहरुको सरकार भए नेपाली युवाहरुले नेपालमा रोजगारी पाउनुपर्ने उनको भनाइ छ । साहले भने, ‘नेपाली युवाहरु विदेशमा तड्पिनुपर्ने र विदेशीहरुले नेपालमा रोजगारी पाउने जुन दुखदायी स्थिति छ । यसको अन्त्य हामी चाहन्छौं ।’
युवाहरुले आफैं रोजगार हुने प्रयत्न गर्ने र नसक्दा राज्यबाट रोजगारी पाउनुपर्ने उनको भनाइ छ ।
‘रोजगारी मौलिक अधिकार हो, राज्यले दिनुपर्ने हो । नागरिकले रोजगारीको हक राख्दछ । सरकारमा बस्नेहरुलाई यो याद जस्तो लाग्दैन’, उनी थप्छन्, ‘म जान्न चाहन्छु– यो मौलिक हकबारे जानकारी राज्यको ओहादामा बस्नेहरुले राख्छ कि राख्दैन ? राख्दैन भने पदमा बसिराख्न मिल्दैन । होइन भने यी चिजहरु सम्बोधन होस् ।’
विगतमा कतिपय नेताहरुले विदेशमा रहेका नेपालीहरुलाई स्वदेश फर्काउने र रोजगारी दिलाउने वाचा गर्दै भोट मागेको स्मरण गर्दै नेता साहले उनीहरु अहिले मौन रहेको टिप्पणी गरे । उनी प्रश्न गर्छन्, ‘विदेशबाट नेपालीहरुलाई स्वदेश फर्काउछौं भन्ने नेताहरु हराएको जस्तो लाग्छ । अहिले उनीहरु कहाँ हराएका छन् ?’
नेपालमा कर्मचारीहरुको हक हितका लागि भनेर ट्रेड युनियनहरु रहेको स्मरण गर्दै उनले उनीहरु पनि रोजगारी पाउने युवाहरुको हक कार्यान्वयन र विदेशमा रहेका नेपाली युवाहरुले रोजगारी पाउँदा के कस्तो सुविधा पाइरहेका छन् भन्नेबारे मौन रहेको बताए ।
‘ट्रेड युनियनहरु कहाँ हराएका छन् ?’, उनी प्रश्न गर्छन्, ‘जुन देशमा नेपाली युवाहरु गइरहेका छन् त्यहाँ ट्रेड युनियन अधिकार छ कि छैन भनेर हेर्नु पर्दैन ?’