लहान : सिरहाको नरहा गाउँपालिका–२ पानवारी चोकमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ। उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको स ६ प ९१५१ र विपरीत दिशाबाट आउँदै गरेको स ८ प २२५० नम्बरको मोटरसाइकल आपसमा ठोक्किएर सो दुर्घटना भएको हो ।
दुर्घटनामा परी स ६ प ९१५१ नम्बरको मोटरसाइकलका चालक सिरहाको विष्णुपुर गाउँपालिका–४ निवासी २८ वर्षीय दीपु पासवान र स ८ प २२५० नम्बरको मोटरसाइकलमा सवार गोलबजार नगरपालिका निवासी २५ वर्षीय गुरुदेव महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
दुर्घटनामा परी गम्भीर घाइते दुवैलाई उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । सोही दुर्घटनामा परी पाँचजना घाइते भएको र उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाइ छ ।